न्वारनमा जुराइए अनुसार मोतीराज भण्डारीको नामले प्रारम्भिक जानपहिचान बनाएका मदनकुमार भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ विकास समितिमा पर्ने ठोट्ने गाउँमा अवस्थित एउटा सामान्य कृषक परिवारमा जन्मनुभएका मदनले यहीँको भिरालो बस्तीभित्रका चट्टानहरूमा उफ्रिँदै, छेउँछाउमा बग्ने तमोर र मौवा खोलाका नागबेली परेका परिदृश्यहरूमा आँखा नचाउदै, लेकबेंसीहरूमा उकाली—ओराली गर्दै अनि लहलह हुने उत्तिस, चाँप र लालिगुराँसहरूका मनोरम दृश्यहरूमा हराउँदै र रमाउँदै आफ्नो बाल्यकाल बिताउनुभएको थियो । खेतीपाती मूलपेशा बनाएको परिवारका माहिला छोरा मदनले गुज्रदैको बाल्यकालमा जिन्दगीका कैंयौ कष्ट र कहरहरूलाई आत्मसात गर्नुभएको थियो भने ज्यान मात्र पाल्न गर्नुपर्ने कठोर श्रम र सङ्घर्षको खुला कितावलाई यहीँ अध्ययन गर्नुभएको थियो । छ भाई छोरा र पाँच बहिनी छोरीसहित दर्जनभन्दा बढी सदस्य रहेको यो परिवार २०२६ सालमा मोरङ्ग जिल्लाको दुलारी गाउँ विकास समितिमा पर्ने लोचनीमा पहाडबाट बसाई आयो । यसको चार वर्षपछि यो परिवार फेरी जिल्लाकै इटहरामा बसाई सर्यो । बर्माबासी मावली हजुरबा चन्द्रलाल पोखरेलको यहीँ देहान्त भएपछि मावली परिवारजनसँगै नजिकै अवस्थित गाउँ भिमचौरीमा सरल, मिलनसार, हकी र बिद्रोही स्वभावका मदनले आफ्नो बाल्यकालको अधिकांश महत्वपूर्ण समय बिताउनुभयो ।
पाण्डित पुरोहित परिवारका तेस्रो सन्तान मदनले आफ्ना बुबाले गाउँकै टुनिबोटे, बरडाँडामा सञ्चालन गर्नुभएको संस्कृत पाठशालामा प्रवेश पाएको केही समयमै सातवर्षे बालककालमै पूर्णअक्षर ज्ञानआरम्भ गर्नुभएको थियो । भान्जादाई लक्ष्मीप्रसाद पौडेल र पाठशालाका धरणीधर न्यौपानेलगायत गुरूजनलाई अक्षर राम्ररी नचिनेकै यस बेलामा लघुकौमदीका कतिपय पाठहरू कण्ठस्थ सुनाएर आश्चर्यचकित बनाउनुभएको थियो, प्रखर प्रतिभाको परिचय दिनुभएको थियो । ११ वर्षको बालक मदनले घरबाट दिनभरिको बाटो हिडेर पुग्न सकिने मेदिबुङस्थित बाल सुवोधनी संस्कृत प्रधान पाठशालामा कक्षा ६ मा दाखिल भई नियमित अध्ययन आरम्भ गर्नुभयो । यहाँ उहाँले संस्कृतका अतिरिक्त नेपाली, अंग्रजी, गणित, भूगोल, इतिहास, विज्ञान आदि विषयहरूको पनि खँदिलो अध्ययन गर्नुभयो । फुर्सदिलो समयमा खेलकुदमा रमाउने मदनले कक्षा ९ र १० को दुइवर्षे पढाईलाई ९ महिनामै पुरा गरी २०२४ सालमा एस. एल. सी परिक्षा उत्कृष्टतासहित उत्तीर्ण गर्नुभयो । घोकन्ते होइन, सिर्जनात्मक अध्ययन क्षमतासहित प्रखर प्रतिभा बनाइसक्नुभएका मदनले उच्चशिक्षा अध्ययनको तृष्णा मेट्न भारतको बृन्दावनमा बस्नुहुने दाजु मनोजलाई पछ्याउनुभयो । यहाँबाट पूर्वमध्यमा र उत्तरमध्यमाको अध्ययन पुरा गरी सकेपछि सहज वातावरणको खोजिमा उहाँ देहरादुनतर्फ लाग्नुभयो । झण्डै एकवर्ष समय देहरादुनमा बिताएपछि उहाँ यहाँबाट बाराणसीतर्फ हानिनुभयो । विषयवस्तुको गम्भिर र गहिराइमा पुग्ने गरी अध्ययन पर्ने स्वभावका मदनले अन्ततः यहीबाट बनारस संस्कृत विश्वविद्यालयबाट शास्त्री र आचार्य तहको अध्ययन पुरा गर्नुभयो । साहित्यिक गतिविधिमा विशेष रूचि राख्ने मदन अध्ययनकालमै खेलकुद, गितसङ्गीत, सामुदायिक आन्दोलन, जागरण, राजनीति आदिसँग घनिष्ठ साइनोसम्बन्ध बनाएर राख्नुहुन्थ्यो ।
साहित्यिक रूझान, संलग्नता र सक्रिय सहभागिताकै कारण प्रगतिशील साहित्यमार्फत राजनीतिक जीवन आरम्भ गर्नुभएका मदन भण्डारीले वि. सं. २०३९ साल साउन २४ गते जिल्ला भोजपुर निवासी बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी छोरी विद्यासँग विवाह गर्नुभयो । यतिबेला मदन नेपाल कम्युनिष्ट पार्टी (माले) को केन्द्रीय सदस्य र विद्या सक्रिय महिला कार्यकर्ता हुनुहुन्थ्यो । पार्टीमा विकासोन्मुख प्रचलनमा रहेर विवाहबन्धनमा बाँधिनुभएका द्वयले पार्टीको झण्डामुनि कसम खाँदै दाम्पत्य जीवन आरम्भ गर्नुभएको थियो । परस्पर सहयोग, सद्भाव र समर्पणभावको यो जीवन निरन्तर पार्टी काममा लागीरह्यो । उहाँहरूका कोखबाट दुई सन्तानहरू उषाकिरण —२०४१ साउन २२ गते र निशाकुसुक —२०४४ असार १५ भएपछि पारिवारिक दायित्व बढ्नु स्वभाविक थियो । तथापि, नियमित र व्यवस्थित अध्ययन, कामप्रतिको तत्परता र लगनशीलतामा कमी आएन । यो सन्तुलित र विद्वेषपूर्ण उहाँको पारिवारिक जीवन एउटा सजिव दृष्टान्त हो ।
मूलतः अन्याय सहन नसक्ने उहाँको आफ्नैखालको बिद्रोही स्वभाव, विषयवस्तुको उच्चतम् ज्ञानको आधार, साहित्य र सिर्जनामार्फत नविन चिन्तनको विकासले उहाँलाई बनारसमा सङ्गठित रूपमा क्रियाशील राजनीतिककर्मीहरूसँग नजिकिने वातावरण बनायो । यही समयक्रममा उहाँ २०२८ पछि सक्रिय विद्यार्थी नेताका रूपमा परिचित हुनुभयो । प्रगतिशील साहित्य र साहित्यमूलक लेखरचनाको सम्पादन र प्रकाशनले उहाँलाई मोदनाथ प्रश्रितमार्फत नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलालसमक्ष पु¥यायो । दाजु मनोजले समेत सक्रिय सहभागिता बढाउन प्रेरित गरेपछि मदन अग्रज पुष्पलालले नेतृत्व गर्नुभएको साँस्कृतिक मोर्चामा आबद्ध हुनुभयो । यही नै उहाँको औपचारिक पहिलो राजनीतिक यात्रा थियो । बहुआयमिक प्रतिभामय देखिने मदनको यसबेलाको सक्रियतालाई देखेर पार्टीले वि. सं. २०२९ सालमा सदस्यता प्रदान ग¥यो । यही वर्षको माघमा सम्पन्न क्रान्तिकारी बुद्धिजीवी सम्मेलनमा उहाँ सहभागी हुनुभयो । सम्मेलनले कवि युद्धप्रसाद मिश्र अध्यक्ष, मोदनाथ प्रश्रित महासचिव रहनुभएको नेपाली क्रान्तिकारी जनवादी साँस्कृतिक सङ्घको स्थापना ग¥यो, यसमा उहाँ केन्द्रीय सदस्य निर्विरोध चुनिनुभयो । यसले आफ्नो मुखपत्रको रूपमा मुक्तिमोर्चा प्रकाशन गर्न थाल्यो । यस प्रकाशन समूहमा रहेर मदन साँस्कृतिक क्षेत्रमा क्रान्तिकारी दर्शन र चिन्तनलाई फैलाउन थाल्नुभयो । यहाँबाट उहाँको विधिवत् र व्यवस्थित राजनीतिक जिम्मेवारीसहितको यात्रा आरम्भ हुन्छ ।